ढरियाको राजनीति
राजनीति आफैमा आदर्श हो।संकट निवारण र मुक्तिको आशा पनि हो।यो सम्भावनाको भण्डार हो तर सीमा रहित होइन।नीति,मान्यता,नैतिकता,धर्म, अनुशासन र संस्कार यसको सीमा हो।सीमा अन्त्य हुनु अराजक एवं अराजनीतिको उदय हुनु हो।देश अँधेर हुनु, नेता चौपट हुनु हो।जनता ठगिनु, असन्तुष्ट हुनु, आक्रोशित हुनु हो।राजनीति छोड्न पनि नहुने र समाल्न पनि नसकिने भालुको कम्पट जस्तै हुनु हो।त्यसो हुनु भनेको देश देशको रूपमा नरहने, नागरिक नागरिकको हैसियतमा नरहने , नागरिक पलायन दिन दुगुना रात चौगुना बढ्दै जाने र आर्थिक, सामाजिक, प्रशासनिक लगाएत ग्रास लेभल देखि टप लेभल सम्मको सम्पूर्ण क्षेत्र लर्खरिनु हो।अफसोस हाम्रो देश, हाम्रो राजनीति र हामी आज ठीक यस्तै अवस्थामा पुगेका छौ।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भनिए तापनि गठबन्धन एउटा बहाना हो।मिठो बिषको गठरी हो।सर्वसाधारण जनता मतदाताहरू मात्र होईनन् ने.का.को असङ्ख्ये नेता कार्यकर्ताहरू गठबन्धनको विरोधमा छन्।पार्टी भित्र विद्रोह विस्फोट होला, पार्टी टुक्रीएला भन्ने मनोवैज्ञानिक डरको कारण तिनीहरूको विरोध अव्यक्त अघोषित छ।दौरासुरूवालमा चिटिक्क परेर सत्तासीन हुने शिर्ष नेताको आसेपासे छोटे नेताहरू र तिनीहरू बाट चुहिने सत्तारस चाटी चाटी स्वाद लिने हुक्के झोलेहरू मात्र समर्थनमा छन्।
तराईको गाँउघरमा एउटा कथन छ " कहाँ जाला मछली मेरै ढरिया "।हो यही फर्मुलामा गठबन्धन निरन्तर चलिरहेको छ। गठबन्धनको सुरूवात देखिन् दलहरू माझ ढरियाको राजनीति चलिरहेको छ।ढरिया राजनीतिक हतकन्डा मात्र होईन्।वस्तुत: यो प्रजातान्त्रिक शक्तिहरू मूलत: नेपाली कांग्रेस विरूद्धको धारिलो रणनीत हो।किनकी ने.का.को राजनीतिक स्ट्रेंथ र साखमा क्रमिक ह्रास ल्याउने, ने.का.लाई एक्लो बहुमत ल्याउन नसक्ने अवस्थामा पुर्याउने ,आफुलाई ओलीको समकक्षीको हैसियतमा पुर्याउदै नेकपा ब्युँताउने ताकि ओलीले आफु विरूध्द केही गर्न नसक्ने र आफु संग मिलेर नै जानु पर्ने बाध्यात्मक अवस्था पैदा गर्ने गठबन्धन नायकको मुख्य टारगेट हो।
प्रतिनिधि सभा निर्वाचन मंसिर ०४ को दौरान असोज ३० गते काठमाडौँको एउटा सभामा कुनै पनि पार्टीले बहुमत ल्याउन गार्ह्रो छ त्यसैले गठबन्धन संस्कृतिको विकास भएको अभिव्यक्ति देउवाले दिएका थिए।समय समयमा समाजवादी मोर्चाको विषय उठाउदै आएका प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा वैशाख १० गते आयोजित विचार गोष्ठीमा केही दिन भित्र समाजवादी मोर्चा गठन गरिने, त्यही बाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुवीकरण तिर जाने र त्यो मोर्चाले नेकपा तिर फर्कनको लागि अपील गर्ने अभिव्यक्ति दिएको सर्वविदित छ।
नेपाली कांग्रेस बहुमत ल्याउन नसक्ने अवस्थामा पुगेको देउवाको अभिव्यक्ति बाट स्पष्ट हुन्छ।मंसिर ०४ को निर्वाचन र वैशाख १० को उप निर्वाचनले ने.का.को राजनीतिक स्ट्रेंथ र साख निरन्तर निस्तेज हुदै गएको स्पष्ट विम्बित गर्दछ।निश्चित छ गठबन्धनको आयु कांग्रेसले जति लम्ब्यायो त्यही दरमा ने.का.को जन समर्थन र विश्वसनीयता भासिदै जानेछ।भिरको डिलमा उभिएर लडाइ लड्न चितवन २ को कमान्ड लिएका र चितवन २ तथा तनहुँ १ को सर्वोच्च कमान्डर चर्चित नेता द्वयले ती दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले भारी मतान्तरले पराजय बेहोर्नु परेको गुदी कारण सहितको तार्किक एवं प्रेरक सुझाव शिर्ष नेताहरूको चेत, छोटे बडे नेताहरूमा आत्मग्लानि र तिनीहरू माथी चौतर्फी दबाव को लागि सार्वजनिक गर्नु नै पर्ने चर्को जनआवाज छ।
--------------------महेन्द्र बहादुर सिंह
Comments
Post a Comment