राष्ट्रिय सहमतिको स्वप्निल राजनीति
मुलुकको राजनीतिमा सत्तापक्ष मूलतः प्रधानमन्त्री प्रचण्ड र विश्वासको मत सहितको प्रमुख विपक्षी दल नेपाली कांग्रेस मूलतः देउवाले जे जस्तो राजनीतिक कर्म गर्दैछन् त्यो देश र जनताको लागि होइन् त्यो त भत्किएको भत्काइएको गठबन्धनको तोड मात्र हो।
सरकार प्रमुख आफु हुने प्रचण्डको अडानलाई अन्तिम समयसम्म कांग्रेसले अनिर्णीत राखेर धुकचुकको अवस्थामा पुर्याएको मानसिक चोट प्रचण्डले भुल्ने त कुरो भएन्।अत: राष्ट्रिय सहमतिको राजनीतिक छद्म प्रयोगमा ल्याईयो।राष्ट्रपतिको पत्ता फालेर विश्वासको मत पाउन प्रचण्ड देउवा भेटन पुगे।प्रचण्डको तापले देउवालाई गलायो।फलतः प्रमुख विपक्षी दलको स्वरूपमा थोरै परिवर्तन गरेर एउटा सिङ धारण गर्दै नयाँ रूपमा कांग्रेस प्रस्तुत भयो।अनि देउवा लगाएत शिर्ष नेताहरू भटयाउन थाले [ विश्वासको मत दिन्छौ तर सरकारमा जादैनौं, विपक्षमा बस्छौं ]।सरकारमा नजाने वचनबद्धता बाट कांग्रेसलाई चुकाउन राष्ट्रपति पद कांग्रेसलाई संकेत गर्दै राष्ट्रिय सहमतिको रणनीतिक गोटी चालमा प्रचण्ड हिजोआज व्यस्त छन्।त्यसै गरि अर्को एउटा सिङ थप्दै राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णयमा कांग्रेस पुग्यो।कांग्रेसको भनाई र गराईमा ताल मिलेन।अब संघीय संसदमा कांग्रेस दुई सिङे प्रमुख विपक्षी बनेको छ।
गठबन्धन अप्रत्याशित भत्काएर गद्दारी गरेको,राजनीतिलाई झन अस्थिर बनाएको र आफुहरूलाई षडयन्त्र गरि छानो बाट खसालेको कांग्रेसको बुझाई छ।तसर्थ प्रचण्डलाई वालकोटको बार्दलीमा अडिन नदिन कांग्रेस दाउको खोजीमा छ।अत: विश्वासको मत दिएर प्रचण्ड रिझाउने , राष्ट्रपति पदमा उम्मेदवारी दिएर ऐमाले लाई चिढाउने र ओली प्रचण्ड बिच आशंका अविश्वासको खाडल बढाउने रणनीति कांग्रेसको छ।ओलीको साथ छुटनु भनेको सरकारमा रहिरहन कांग्रेसको साथ सहयोग चाहिन्छ।त्यस अवस्थामा गठबन्धन तोडुवा प्रचण्डसंग राजनीतिक हिसाब गर्ने ताकमा देउवा छन्।कांग्रेस झर्ला र खांउलाको अवस्थामा छ।
प्रचण्डलाई निकै स्वाद छ।ओली छैन् ,देउवा छ।देउवा छैन्,ओली छ।राष्ट्रीय सहमतिको राजनीति आजको आवश्यकता होईन्।किनकी मुलुक राजनीतिक सामाजिक आर्थिक भौगोलिक संवैधानिक भिषण संकटावस्था बाट गुज्रीरहेको अवस्था छैन् जसको समाधान सरकारले मात्र गर्न नसक्ने हुदा सबै दलहरूको संलग्नताको निमित्त राष्ट्रिय सहमतिको खाँचो रहेको होस्।सर्वत्र प्रश्न उठीरहेको छ आखिरमा राष्ट्रिय सहमति किन के का लागि? राष्ट्रपति पदका लागि हो भने संविधानको धारा ६४ मा उल्लेखित योग्यता पुगेको तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको लाई नियुक्त गर्न राष्ट्रिय सहमति खोज्नु सकारात्मक हो।ऐमाले लाई सभामुखमा जस्तै कांग्रेसलाई राष्ट्रपतिमा बहुमत समर्थन जुटाएर प्रचण्डको आफ्नो राजनीतिक टिकाउका लागि शक्ति सन्तुलन गर्न अथवा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न परिक्षण अभ्यासको लागि राष्ट्रिय सहमतिको प्रयास हो भने राजनीति खिचडीमिचडी हुनेछ र अस्थिरताको जरो दह्रो गाडिने छ।अत: वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सहमतिको उठान स्वप्निल राजनीति मात्र हो।
राजनीतिक अस्थिरता र खिचडीमिचडीका लागि जनताले कांग्रेस लाई पनि मतियार ठहर्याउने छन्।विश्वासको मत दिएर कांग्रेसले प्रजातान्त्रिक प्रणालीमा चलिआएको प्रमुख विपक्षी दलको राजनीतिक धर्म तोड्यो। सर्वत्रबाट आलोच्य भयो।ने.का.संसदीय दलले २०७९/०९/२९ गते [ प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माँग गर्दै ] संधीय संसद सचिवालय लाई लेखि पठाएको पत्रबाट स्पष्ट हुन्छ कि कांग्रेस प्रमुख विपक्षी दल हो होईन् ,रहन्छ रहदैन् ,सुविधा पाउंछ पाउदैन् बिषयमा आफै कन्फ्यूजनमा रहेको प्रष्ट हुन्छ।कांग्रेसले आत्मालोचना गर्नु पर्दछ।वर्तमान पोजिशन बाट ब्याक हुनु पर्दछ।प्रमुख विपक्षी दलको हैसियतमा सशक्त ढंगमा प्रस्तुत हुनु पर्दछ।तब मात्र संविधानको प्रस्तावनामा उल्लेखित [ जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली ] ले गति लिने छ।
----------------------महेन्द्र बहादुर सिंह
Comments
Post a Comment