प्रजातन्त्र होइन गठबन्धनतन्त्र

 प्रजातन्त्र होइन गठबन्धनतन्त्र

प्रकाशित:-असार १६,२०७९( June 30,2022 )


दलीय प्रतिस्पर्धा अप्रत्यक्ष प्रजातन्त्रको मूल हो।तर अब त्यो अवस्थाको लगभग अन्त्य हुदैछ। सत्ताको मातमा भागबन्डाको राजनीति- गठबन्धन - बलजफती मुलुकको राजनीतिक आकाशमा मडारिरहेको छ।गठबन्धनतन्त्र अबको हाम्रो राजनीतिक पद्धति हुनेछ प्रजातन्त्र होइन्।गठबन्धन परिस्थितिजन्य होइन् स्वार्थजन्य हो।परिस्थितिजन्यले पद्धतिमा सुधार ल्याउदछ,तत्कालको संकटको मोचन गर्दछ।तर स्वार्थजन्यले बिस्तारै पद्धतिमा विषादीपात गर्दछ।प्रजातन्त्र,गणतन्त्र र सङ्घीयताको लागि आवश्यक भनिएको गठबन्धन आवरण मात्र हो।असलियत मुलुकले बेहोरिरहेकोछ।हामीहरूले देखिरहेका छौ।

सर्वविदित नै छ गठबन्धन राष्ट्रीय राजनीतिको आवश्यकता होइन्।समग्रमा नेपाली कांग्रेसको आवश्यकता र चाहना पनि होइन्।यो त नेकपा माओवादी( केन्द्र ) अध्यक्ष प्रचण्ड प्रति ने का अध्यक्ष देउवाको समर्पण मात्र हो।नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव लाई पार्टी भन्दा  आफ्नो राजनीतिक अस्तित्व जोगाउनु छ, मटियामेट हुन बाट जोगिनु छ।प्रचण्ड लाइ शक्ति संचय गर्दै भावी राजनीतिमा आफ्नो पकड जमाउनु छ।ऐमाले अध्यक्ष ओली लाई धुलो चटाउनु छ।सबै भन्दा महत्वपूर्ण कुरो प्रचण्ड र माधवमा ओली फोबिया छ।त्यसैले त गठबन्धन तिनीहरूकोलागि परम आवश्यकता हो।यस लाई संस्थागत गर्दै तन्त्रको रूपमा स्थापित गर्ने सोंचमा छन्।वैशाख २२,२०७९ चितवन भरतपुरमा प्रचण्ड भट्याउदै थिए “ यो गठबन्धनलाई १०,१५,२०,वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ ”।ने का अध्यक्ष देउवाले पनि गठबन्धन अहिलेको आवश्यकता हो भन्दै प्रचण्डको प्रतिबद्धतामा कटिबद्ध रहेको दर्साउनु भो।नेका प्रवक्ता प्रकाशशरण महत २२ जेठ २०७९ मा व्यक्त गर्दै थिए “ समग्रमा हामी लाई यो गठबन्धन बाट राम्रो भाको छ।र गठबन्धनको कारणले पनि कतिपय ठाउँहरूमा अन्तर्घात बाट नतिजामा प्रभाव पार्न नसक्ने भएपछी त्ये ले पनि मदत चै गर्या छ।गठबन्धन लाई आउने आम निर्वाचनमा पनि अगाडी बढाउन पर्दछ भन्ने गठबन्धन दलहरूको नेतृत्वमा आमसमझदारी नै छ ”।

कम्युनिस्टहरूको टुट,फुट र अचाक्लीको कारण राष्ट्रीय राजनीतिमा स्वत:स्फूर्त ने का को पक्षमा राजनीतिक माहौल बनिरहेको,पार्टी एक्लै निर्वाचनमा जाँदा उल्लेखनीय उपलब्धि हासिल हुने र नेता कार्यकर्ताहरूमा उदाहरणीय एकता हुने वास्तविक अवस्थालाई नजरअंदाज गर्दै पार्टी भित्र बहुमतको दम्भको आडमा सिङ्गो पार्टीलाई गठबन्धनको जामा लगाएर भेलमा बगाउनु गम्भिर एवं दूरगामी राजनीतिक त्रुटि हो।वास्तविकता र बहुमत दुई फरक प्रसङ्ग हो।बहुमतले वास्तविकता लाई लत्याउन सक्छ।

ने का भित्र यस्तै त भयो। 

गठबन्धको पाँच शक्ति मिलेर पनि प्रतिगामीको ट्याग लगाइएका ओली नेतृत्वको ऐमाले लाई स्थानिय निर्वाचनमा पातालमा पुर्याउन त के थाङ्नामा सुताउन पनि सकेनन्।ऐमाले दोस्रो स्थानमा रह्यो।मत संख्याको आधारमा प्रथम रह्यो।गठबन्धको छाता नओढीए कम्युनिस्टहरू एकजुट हुनेछन त्यो सोंचको आधारमा कॉंग्रेसले गठबन्धनको नेतृत्व सम्हालेको हो।जनता माझ व्यापक गाइँगुइँ छ।वास्तमा त्यो सोंच कमजोर एवं पराजय मानसिकताको उपज हो।कॉंग्रेसलाई गठबन्धनको छाता ओढाउन सक्नु कमरेड प्रचण्ड माधवको लागि महत्वपूर्ण राजनीतिक उपलब्धि हो।गठबन्धनतन्त्रको मसीहा माओवादी( केन्द्र ) अध्यक्ष प्रचण्ड हो।जनता माझ सनसनी छ।।गठबन्धनतन्त्र हात्तीलाई मुसा बनाउने दीर्घकालीन वामपन्थी रणनीति हो।यस्को पुष्टि भावी राजनीतिले गर्नेछ।२२ बैशाख २०७९ चितवन भरतपुरमा प्रचण्डले धम्काउदै थिए “ हानिदैन हँसिया हथौडामा भोट भन्नु भयो भने देश दुर्घटनामा जान सक्छ ”।गठबन्धनतन्त्रको परिणाम  प्रजातन्त्रमा निरन्तर अनगिन्ती छिद्र पर्दै जाने छ।तसर्थ पार्टी भित्रको क्लेश र बहुमतको दम्भ समाप्त गर्दै सम्भावित दुर्घटना बाट राष्ट्रीय राजनीति र पार्टीलाई जोगाउन ने का नेतृत्व सँभालिनु आवश्यक छ।

————————-महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ