बहुरङ्गी गठबन्धनको बहुरूपी नेता
बहुरङ्गी गठबन्धनको बहुरूपी नेता
निश्चयत: सत्ता गठबन्धन बहुरङ्गी गठबन्धन हो।यो भिन्न दर्शन,सिद्धान्त,चिन्तन, दृष्टिकोण, शैली र आचरणको सम्मिश्रण हो।राजनीतिक विचारधारा आचरण र कार्यशैलीको दृष्टिले तिनीहरू बीच सदीऔं देखिन् पुर्न नसकिरहेको ठुलो खाडल छ।यो निश्चित सिद्धान्त नीति र बृहत् उद्देश्य रहित छ।स्वार्थ नै यसको लक्ष्य र आधार हो।
कांग्रेस नेतृत्व आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पूर्तिको एकोहोरो धुनमा छ।नेकपा माओवादी ( केन्द्र ) अध्यक्ष प्रचण्ड आफ्नो पार्टीलाई तेस्रो सकेसम्म दोस्रो ठुलो पार्टी बनाएर ऐमाले अध्यक्ष ओलीलाई टक्कर दिने ताकमा छन्।नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव सकेसम्म आफ्नो पार्टीलाई दुरूस्त बनाउने तन्मयमा छन्।राष्ट्रीय जनमोर्चा पार्टी लाई गठबन्धनको हुलमूलमा सरर्र अगाडी बढनु छ।केही पार्टीको लागि गठबन्धन मुसो खेल्ने दुलो ( लुत्त छिर्नु फुत्त निक्लनु ) जस्तै छ।कुरो मिलेन, चाहे जस्तो स्वार्थ पूर्ति नहुने भयो फुत्त निक्लियो।स्वार्थ पूर्ति हुने भयो लुत्त छिर्यो।लोसपा लुत्त,जसपा फुत्त।सर्वअवगत छ सत्ता गठबन्धनमा पाँच दल सहभागी छन् तापनि नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा लिएर संयुक्तरूपमा चुनावमा जाने सहमति भएको अध्यक्ष बाबुरामले बताउदै आफ्नो पार्टी गठबन्धनकै एउटा अङग हो भनिरहदा जनताले भाउन्न अनुभूत गरेका थिए।
गठबन्धनका नेताहरूको बोली र व्यवहारमा बहुरूपी स्वभाव यथेष्ट रहेछ।प्रतिगामी हरू बाट देश,संविधान,गणतन्त्रको रक्षा संग संगै जनान्दोलन र जनक्रान्ति बाट प्राप्त उपलब्धिहरूको रक्षा तथा स्थिरता र समृद्धिकालागि गठबन्धन आवश्य रहेकोले सो गरिएको नेतागणले भाका मिलाएर जताततै अभिव्यक्ति दिदै आएका छन्।गठबन्धनको औचित्यलाई रबर तन्काइए जस्तै तन्काउदै लाने प्रवृत्ति नेतागणमा स्पष्ट देखियो।" कुनैपनि पार्टीले बहुमत ल्याउन गाह्रो छ।गठबन्धनबाट मिलाएर लाने आवश्यक छ।त्यसैले यो एउटा संस्कृतिको विकास भएको छ "।यो २०७९ असोज ३० गते काठमाण्डूको एउटा कार्यक्रममा प्रधानमन्त्री देउवाको अभिव्यक्ति हो।अब गठबन्धनलाई मिलाएर लाने एउटा परिपाटी र संस्कृतिको रूपमा स्थापित गर्ने तर्फ नेताहरू उन्मुख देखियो।किटानीसाथ स्मरण गर्न आवश्यक छ कि संविधानले " जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली " को व्यवस्था गरेको छ।
निर्वाचन पश्चात गठबन्धनको सद्गत हुन्छ हुदैन् निश्चित छैन्।किनकी स्वार्थ गठबन्धनको मापदण्ड हो।स्वार्थ अझै पुरा भएको छैन् भने निरन्तरता दिन्छन्।कार्तिक २५ गते गोर्खामा बिबिसी संगको अन्तरवार्तामा प्रचण्डले भनेका थिए " गठबन्धन एउटा निर्वाचन मात्र होईन् दुइ तीनवटा निर्वाचन सम्म गइरहनु पर्छ।अर्को पल्ट माओवादी पहिलो पार्टी बन्छ भन्ने विश्वासको साथ म दौडिरहेको छु "।अहिले सम्म स्पष्ट छ कि गठबन्धनलाई सक्दो तन्काउने मनःस्थितिमा नेताहरू छन्।
मुलुक यतिखेर बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा व्यस्त छ।यसै सन्दर्भमा कमरेड प्रचण्डको " निर्वाचन प्रणालीमा,शासकीय स्वरूपमा पनि संविधान संशोधन माध्यम बाट सुघार गर्न सकिन्छ।सहयात्री दललाई पनि सहमत गराउने "अभिव्यक्ति संचार माध्यम बाट सबैले श्रवण गरे।नेकपा माओवादी केन्द्रले घोषणापत्रमा " समृद्धिका लागि क्रमभंगता,प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली " उल्लेख गरेको छ।गणतन्त्र स्थपनाकै क्रममा प्रथम राष्ट्रपति बन्ने चक्करमा गिरिजाकालमा ने. का. ले आफ्नो शब्दकोश बाट संवैधानिक राजतन्त्र हटाउदा जनता माझ धुइरोधुइरो कुरा उठेको थियो।अब प्रथम प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने चक्करमा देउवा सहमत नहोला भन्न गाह्रो छ।किनकी सत्ता लोलुपता र रक्त पिपासा बडो अजिब हुन्छ।
चुनावको चटारो छ।जीत हातपार्न उम्मेदवारहरू दौडमा छन्।मतदाता समक्ष बहुरङ्गी बहुरूपी ढंगमा अस्वाभाविक आत्मीयता प्रदर्शन गरिरहेका छन्।स्वतन्त्र उम्मेदवारहरूको ताँती र तिनीहरू प्रति मतदाताहरूको बढ्दो चासो रूचि झुकाव र प्रदर्शित समर्थनले दलीय उम्मेदवारहरू उकुसमुकुसमा छन्।नयाँ दलहरूको रफ्तार ले त चुनावको तापक्रम झन् बढेको छ।मतदाताहरूको सोचमा पनि व्यापक परिवर्तन आएको संकेत देखिन्छ।यस पटक मतदाताहरू भिन्न ढंगमा प्रस्तुत हुने,जोसले होइन होसले, लोभ र डरले होइन विवेकले,विगतको अनुभवले मतदान गर्ने आकलन सबैले गरेका छन्।
------------------महेन्द्र बहादुर सिंह
गज्जब।
ReplyDeleteसमसामयिक बेहतरीन राजनीतिक बिश्लेषनात्मक लेख
ReplyDelete