एक मुठी देशको माटो
एक मुठी देशको माटो
प्रकाशित:-वैशाख ११,२०७८( April 24,2021 )
राजनीतिमा एउटा बहुचर्चित भनाई छ! समाजवाद,आकार गुमेको,बिग्रिएको एउटा टोपी जस्तै हो।किनकी सबैले समाजवादको त्यो टोपी पहिरिन्छन् ( Socialism is like a hat that has lost it’s shape because everybody wears it )।आदर्श,मूल्य,मान्यता,नैतिकता,आस्था र संस्कारको धरातलमा टेकेर राजनीति गर्नेहरू र लाठी, बन्दुक,गोला,बारूदमा टेकेर बाहुबलको, सर्वसत्तावादी सोंच र प्रवृत्तिको,दलालीको,गुलामीको, छद्मवेशीको राजनीति गर्नेहरू सबैले आफु लाई प्रजातन्त्रवादी उदघोष गर्दछन्।राजनीतिमा इन्ट्री गर्दा प्रजातन्त्रको भजन गाउदछन्।जनप्रिय बन्दछन् र सोही दौरान देश र जनता विरूध्दको आफ्नो कुकृत्य बाट जोगिन,चोखिन र सुरक्षित अवतरण गर्न प्रजातन्त्रको दुहाई दिन्छन्। त्यस्कारण आज प्रजातन्त्रको अवस्था पनि समाजवाद झैँ आकार गुमेको,बिग्रिएको एउटा टोपी जस्तै भएको छ।
मुलुकको वर्तमान राजनीति देख्ने लाई लाज भने जस्तै हेर्न नसकिने,सुन्न नसकिने,असह्य,घृणित, षडयन्त्रयुक्त छ।आदर्श,नैतिकता,इमानदारी,जवाफदेहिता,विश्वास र सत्यनिष्ठाको राजनीति गर्नेहरू कुनाकाप्चामा छन्।तर धुर्त्याइँ,फट्याइँ,दुष्ट्याइँ र शकुनि राजनीति गर्नेहरू अग्रपंक्तिमा छन्।जनता हैरान छन्।संविधानविद्,कानूनविद् लगायत राजनीतिक,आर्थिक एवं सामाजिक विज्ञहरू हायलकायल छन्।तिनीहरू ले दिएका मार्गदर्शन तथा निकासमूलक सुझाव एवं विचारहरू लाई नेताहरू लँगौटी लगाइ दिन्छन्।त्यस प्रति गम्भिर हुदैनन्।म नै प्रजातन्त्र,म नै संविधान,म नै क़ानून,म नै देश,म नै सर्व को मानसिक रोग बाट नेताहरू ग्रसित छन्।प्रजातन्त्र आवरणमा मात्र सीमित छ।त्यसैले राजनीतिक स्थायित्व र दह्रिलो प्रजातान्त्रिक पद्धति जनताको मूल ऐजेण्डा बनेको छ।सही दिशानिर्देश गर्न सक्ने दल र नेतृत्वको खोजीमा जनता छन्।
इमानदारीको आवरणमा बेइमानी साथ मिलेर जाने र चिप्लाई दिने चालमा नेताहरू व्यस्त एवं अभ्यासरत छन्।राजनीतिक निकास र स्थायित्वको नाउँमा नेताहरू खुलेआम आ आफ्नो स्वार्थ पूर्तिको हिसाब किताबमा व्यस्त छन्।स्वार्थ पूर्ति को गोटी ठीक ठाउंमा पर्ने बित्तिकै गोल हान्ने तयारीमा दलहरू छन्।भाषण जतिसुकै गरेतापनि मौकामा चौका नै शीर्ष नेताहरूको मुख्य दाउ हो। सरकारको राजीनामा माग्दछन्।अविश्वास प्रस्तावको कुरो गर्दछन्।मिलेर सरकार गठन गर्न बैठक बस्दछन्।छलफल गर्दछन्।तापनि समर्थन फिर्ता लिदैनन्।दलहरू संगको सेटिंग शतप्रतिशत निश्चित एवं ग्यारेन्टी नभएसम्म समर्थन फिर्ता हुने संकेत देखिदैन्।सामान्य सेटिंगको आधारमा समर्थन फिर्ता गरिहाल्यो तर सेटिंग मुताबिक़को गठबन्धन सरकार हुन सकेन,खिचलो हुन थाल्यो भने नेकपा( माओवादी ) राजनीति बाट हराउने,छिँडीमा पुग्ने सम्भावना प्रबल छ।तसर्थ माओवादीले समर्थन फिर्ता गर्ने धम्कीको राजनीति गरिरहेको छ।समुद्रमा जहाज लाई लङ्गर लगाएर अड्याइ राखे जस्तै गरि राजनीति लाई लङ्गरको अवस्थामा पुर्याउन माओवादी लगभग सफल भएको छ।समर्थन फिर्ता लिने दाहालको धम्की र समर्थन फिर्ता लिन ओलीको चुनौतीको वर्तमान राजनीतिक घनचक्करमा कागजी बाध को साबित हुने हो त्यो देख्न र सुन्न जनता उत्सुक छन्।
माओवादीले सरकार गठन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी लाई हौसाइ रहेको छ।जसपाले सरकार समक्ष माँग तेर्साएको छ।माँग बमोजिम काम भयो,हुने भयो भने जसपाको मुखां बुजो लाग्ने छ।माओवादी लाई समर्थन फिर्ता लिन,ओली सरकार लाई राजीनामा दिन, विश्वासको मत लिन वाध्यात्मक अवस्था सृजना गर्न नेपाली कांग्रेसले राजनीतिक कौशल देखाउन सक्नु पर्दछ।अन्यथा नेका को नेतृत्वमा सरकार गठनको आकांक्षा,लालचा र प्रयास आत्मघाती हुनेछ।आजको असोचनिय राजनीतिक दुरावस्थामा नेका ले आफ्नो नेतृत्वमा सरकार गठन र निर्वाचन गराउने कुरो गर्नु “ टाउकोमा दुखाइ कमरमा टेका ” भने जस्तै हो।स्वार्थ,लालच,षड्यन्त्र एवं प्रतिशोध लिप्त छद्मवेशी दलहरू संगको गठबंधन ढोड जस्तै हो।त्यस्तो गठबंधन बाट निश्चय नै दलहरूको स्वार्थी खेल पुरा हुनेछ तर राजनीतिक स्थायित्व र संकट समाधान को कुरो गर्नु गलत राजनीतिक आकलन हुनेछ।
ने.का. शिर्ष नेताहरू निर्णायक निर्णय गर्न नसकिरहेको,राजनीति लाई ठोस दिशा निर्देश गर्न नसकिरहेको,बारम्बार पर्ख र हेर को अवस्थामा रहेको,अलमलमा परेको, एउटै बिषयमा एउटै मन्च बाट दुई शिर्ष नेताहरूले फरक एवं परस्पर विरोधी अभिव्यक्ति दिने गरेको,राजनीतिक दुरावस्था लाई सुरक्षित एवं सारगर्भित अवतरण गराउन सटीक निकास दिन नसकेको आजको अवस्थामा नेपाली कांग्रेसले अलि फरक ढंगमा सोच्नु पर्दछ।
नेपाली कांग्रेस ले कुनै एक वर्ग,क्षेत्र ,सम्प्रदाय,समुदाय,समाजको मात्र कुरो गर्दैन्।देशको माटो लाई छातीमा राखेर समग्र देश र जनताको कुरो गर्दछ।त्यसैले त नेपाली कांग्रेस जनताको पार्टी हो।जन नायक वि पि कोइरालाको राजनीतिक भाव एवं आदर्श को संवेदनशीलता लाई पुनर्जीवित गर्दै,मनन गर्दै एक मुठी देशको माटो छातीमा राखी नेताहरूको पुनर्जागृति नै आजको परम आवश्यकता र जनताको चाहना हो।
——————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment