झगड्याहाको राजनीति
झगड्याहाको राजनीति
प्रकाशित:- माघ २०, २०७७ ( Feb.2, 2021 )
राजनीतिक सरलीकरण र महामारी नियन्त्रण,उपचार,व्यवस्थापनमा राष्ट्रीय एकत्व आजको हाम्रो आवश्यकता हो।सत्तासीन दलका त्यागी,क्रान्तिकारी,अग्रगामी तथा जनयुध्दको कमाण्डर समेत रहेका तर झगडालु स्वभावका नेताहरूको कारण संविधान चिथोरिएको छ।संसद विघटन गरिएको छ।निर्वाचनको मिति तोकिएको छ।सर्वोच्चमा बहस चलिरहेको छ।वकिल,संविधानविद् र विध्दानहरू छलफल एवं अभिव्यक्तिमा व्यस्त छन्।असंवैधानिक कदमको विरोधमा,संसद पुनर्स्थापनाको पक्षमा र निर्वाचनको तयारीमा राजनीतिक दलहरू आ-आफ्नो ढंगमा सड़क तताइ रहेका छन्।
सत्तासीन दलका नेताहरू प्यारप्यार गरिरहेका छन्।तिनीहरू एकअर्काको इजार तानातान गर्दै कुन्नि के साबित गर्न खोज्दै छन्।इजारको गाँठो फुस्किएमा नग्न हुने त हो नि।दाहाल भरूवा बन्दुक पर्र पड़्काउदै छन्।नेपाल बन्दुकमा बारूद भर्दै छन्।ओली क्यारिकेचर गर्दै दाहाल-नेपालको खिसी गर्दैछन्।कार्यकर्ता,समर्थकहरू रमाइ रहेकाछन्।दलहरू सत्तासीन घैंटो फुटाइको प्रतिक्षामा छन्।आसुरीका वाहक,प्रतिगमनका प्रतिक ओली हुन् भन्दै नेपाल टर्र टर्र गरिरहेका छन्।के.पी. को हातां अब केही पनि छैन् प्रष्ट बुझ्नु होला।अब अन्तै छ चिजहरू।ठगी धन्दा गर्नु भएछ।इतिहासको कलंक कुपात्र भईसक्नु भयो।भित्तामा पुर्याउन पनि म तयार भएकै छु भन्दै दाहाल प्यारप्यार गरि रहेका छन्।पार्टी छोडेर भागेका भगोडाहरू,सभ्यता केही छैन्।लुकेर ज्ञानेन्द्र कहाँ गएर राती राती रक्सी खाएर लोकतन्त्र का विरूद्ध षडयन्त्र गर्ने।देशलाई अगाडी बढाउन नदिने तत्व यी नै हुन् भन्दै ओली फतफताइ रहेका छन्।आकाशतिर फर्किएर कस्ले कति ऊँचाइ सम्म थुक्न सक्छ भन्दै नेताहरू थुक्ने प्रतिस्पर्धामा व्यस्त छन्।थुक आफ्नै अनुहारमा पर्ने त हो नि।राजनीतिक संस्कार,चरित्र,आदर्श,अनुशासन र मर्यादा टुकुचामा मिल्काइ झगडियाको रूप धारण गरेका नेताहरू राजनीति लाई दुर्गन्धी पार्दै सडक छाप बनिरहेका छन्।सत्तासीन दलका कार्यकर्ता, समर्थकहरू कतै नलागि पार्टीको झण्डामुनि गोलबन्द हुने हो भने झगडिया नेताहरू एकलो हुने थिए।तिनीहरू नहुदैमा पार्टी टुहुरो हुने पनि त होइन् नि।पार्टी नेतृत्वको काँचुली फेरिने थियो।तर नेता,कार्यकर्ता,समर्थकहरू यता बाट उता,उता बाट यता गर्दै एकले अर्को लाई नग्न पार्नमा नेताहरू लाई हौसाइ रहेका छन्।
प्रदूषित राजनीतिको शुध्दीकरण ,स्वच्छ,स्वस्थ,मर्यादित र अनुशासित प्रजातांत्रिक अभ्यास एवं देश र जनता प्रति समर्पित सामाजिक राजनीतिक अगुवाहरू,अधिकारवादीहरू तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगाएत अन्य राजनीतिक दलहरू प्यारप्यारे नेताहरू विरूद्ध दबाब सृजना गर्न र वर्तमान महामारीको जोखिमपूर्ण अवस्थामा झगडिया नेताहरू र तिनीहरू आबद्ध नेकपा विरूद्ध जनतालाई तन मनले दृढ सङ्कल्पित बनाउन मनोवैज्ञानिक विधिहरू प्रभावकारी प्रयोगमा ल्याउन सकिरहेका छैनन्।परिणामत: यस्तो अप्राकृतिक संवैधानिक एवं राजनीतिक संकटावस्थामा हामी जनता तमासे भइरहेका छौ।जगजाहेर नै छ कि जनता आफै परिचालित हुदैनन्।संगठित एवं सशक्त जनपरिचालनको निमित्त प्रारंभक र नेतृत्वको खांचो पर्दछ।
महाभारत कथामा कौरवको पक्ष बाट युद्धरत तत्कालीन सिन्धु नरेश जयद्रथको वध को क्रममा सारथि को भूमिकामा रहेका श्रीकृष्णले समयान्तरको चाल चलेका थिए।आफ्नो परमशक्ति द्वारा क्षणिक सूर्यास्त गराइ दिउसै रात पारेका थिए। “संसदको विघटन राजनीतिक प्रश्न भएको र यस्लाई कानूनी प्रश्नको रूपमा संवैधानिक प्रश्नको रूपमा अदालतले विचार गरिरहनु भन्दा यस्लाई केही भनीरहनु नपर्ने भनेर खारेज गर्नु पर्दछ” भन्दै नेकपा अध्यक्ष ओलीले बिषयान्तरको चाल चलेको जन जगमा छर्लङ्ग छ। रक्त पिपासु लाई रगतको छिटा नपरेसम्म चैन हुदैन्।त्यसैले त “ अब हाम्रो आन्दोलन भेजिटेरियन जस्तो हुनु भएन के।अलि आक्रामक बाघ र सिंह गर्जे जस्तो हुनु पर्ने भयो।त्यस्तो आन्दोलन चाहिएको छ कमरेडहरू” भन्दै दाहाल गर्जेको सबैले देखेको सुने कै हो।नेताहरूको ताल हेर्दा हेर्दै बोली सुन्दा सुन्दै जनतामा राजनीतिक सारथिको हल्का आशंका पैदा भएको छ।
ओडारमा जाकिएको राजनीति लाई खण्डहर हुन बाट जोगाउन, झगडिया पार्टी लाई अहिलेको अवस्थामा टक्कर दिन र झगडिया नेताहरू लाई मत्थर गराउन सक्ने ल्यागत नेपाली कांग्रेसमा देखिएन्।तेस्रो ठुलो दल जसपा को त कुरै भएन।हामी स्वतन्त्र छैनौं।हामी नेतामुखी छौं।नेताको स्वार्थको लागि हामी परस्पर भिड्न रगत बगाउन तयार हुन्छौ।देश र जनताको सवालमा हामी विभाजित हुन्छौ।त्यसैले अब नेताहरूको चाहना र आदेशमा मात्र हामी जनताको हात खुट्टा र दिमाग चल्ने भएको छ।हामी उल्लु बनेका छौ।दास बनेका छौ।निकम्मा भएका छौ।अब नेताहरूले जे भन्छ त्यो सुनेर बस्ने,जे गर्छ त्यो हेरेर बस्नु को कुनै विकल्प छैन्।यही नै हो त संघीय प्रजातान्त्रिक गणतन्त्र को उपादेयता ?आज यो प्रश्नले प्रत्येक नेपालीमा जवाफ खोजीरहेको छ।
————————-महेन्द्र बहादुर सिंह
Comments
Post a Comment