राजनीतिको आवरणमा अराजनीति

 राजनीतिको आवरणमा अराजनीति

प्रकाशित:-जेठ ११,२०७८( May 25,2021 )


राजनीति बाट सबै प्रभावित हुन्छन्। तर मात्र नेता बाट राजनीति प्रभावित हुनु गतिलो राजनीतिको संकेत होइन् ।दल बाट नेता होइन नेता बाट दल प्रभावित हुनु , गुट उपगुटहरू दलको लक्ष्मण रेखा नाघेर अन्य दल संग अँगालो मार्नु , आफ्नै दल विरूद्ध गुटहरूले समानान्तर हैसियत खड़ा गर्न खोज्नु , घर झगडाको आगो निभाउन नसकि समुचित राजनीति र संविधानमा डढेलो लगाउनु अनि अन्य दलहरूले आगोमा घ्यु मह चिनी थप्नु यही त हो नि वर्तमानको समुचित राजनीतिक समस्या र संविधान मिचाइको मूल कारण।


राजनीतिको आवरणमा अराजनीति को अवस्था बाट मुलुकको राजनीति गुज्रिरहेको छ। शुरूमा जनता लाई राजनीतिको यस्तो अवस्था भयङ्कर तथा घोर लाग्द थियो। तर अहिले जनता केही खास मान्दैनन्। मूल कानून संविधान कुल्चिने ले कुल्चिदै जान्छ। विपक्षी दलहरू उफ्रिरहन्छन्। सर्वोच्च अदालत ले संसद पुनर्स्थापनाको फैसला गर्दछ। सरकार प्रमुख उक्त फैसलाको स्वागत गर्दै शिरोधार्य गर्दछ। केही समय नियम संगत चल्दछ। फेरि पनि संविधान मिचाहा जुरमुराउद छ। गर्नै नहुने, गर्न नमिल्ने असंवैधानिक कार्य पुन: गर्दछ। अनि त उही विरोध, धम्की, मुद्दा, आफ्नो ऐक्सन को सफाइमा वक्तव्य, पत्रकार भेला आदि इत्यादि खेल शुरू हुन्छ ।  असंवैधानिक,अराजनीतिक, अराजक, प्रतिगामी, तानाशाही जे जस्तो आरोप लगाइए तापनि, रिट निवेदन दर्ता गरिए तापनि, गठबन्धन गरेर सामूहिक शक्ति  को रूपमा दलहरू प्रस्तुत भएतापनि संविधान चिर्ने लाई राजनीतिक लकअप को अवस्थामा पुर्याउन विपक्षी दलहरू हालसम्म असफल रहेको छर्लङ्ग छ। भित्र भित्र मिलीभगत अनि बाहिर मुसा बिरालो को रणनीति हो कि न जनताको आशंका छ। आखिरमा  राजनीतिमा सम्भावना त रहन्छ नै।


राष्ट्र प्रमुख र सरकार प्रमुख मध्यरात फेरी दोस्रो पटक संविधान को भाँडाकुटी खेलि नै हाल्नु भो।राजनीतिक र संवैधानिक संकट को ढोल ठटाइ हाल्नु भो। संविधान को धारा ७६ को उपधारा १ देखि ५ सम्मको व्याख्या र प्रयोग आफ्नै अनुकूल गरि नै रहनु भा को छ । विपक्षी दलहरू एकजुट भएर भिडभाड गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। अदालत बाट फेरी  दोस्रो पटक पनि प्रतिनिधि सभा पुनर्स्थापना को फैसला होला । यही क्रम सधैं दोहोरि रहने हो कि? जनता प्रश्न गरिरहेका छन् । बिंदास संविधान लाई चिर्ने सरकार प्रमुख शतप्रतिशत दोषी त हुदै हो। विपक्षी दलहरू पनि दोष मुक्त हुन सक्तैन्। राजनीतिको आवरणमा अराजनीति गर्ने,  संविधान लाई चिथोरि चिथोरि  चिराचिराको  अवस्थामा पुर्याउन उद्दत नेता लाई राजनीतिक ठेडी लगाउन विपक्षी दलहरू चुकि रहेको जगजाहेर नै छ।

राजनीतिक अखाडामा अनेकन तिकडम त चलि नै रहन्छ।राजा लाई दरबार छाडन र राजतन्त्रात्मक शासन व्यवस्थामा पूर्ण विराम लगाउन सफल ती नेताहरू आजको राजनीतिक अखाडामा दह्रो उत्रिन सकिरहेका छैनन्। मात्र अदालत गुहार्ने अवस्थामा छन् ती नेताहरू । कम्युनिष्ट ले कम्युनिष्ट लाई मटिया मेट हुने गरि किन लत्याउला र । प्रजातन्त्रवादीहरूले लत्याउनु पर्ने हो। तर आज प्रजातन्त्रवादीहरू च्याँखे जस्तै देखिन्छन्। च्याँखे थापेर राजनीतिक स्थिरता कायम गर्न सकिन्छ, वर्तमानको राजनीतिक डाँवाडोल लाई मत्थर पार्न सकिन्छ र जनताले आज भोगीरहेको सम्पूर्ण समस्याहरू समाधान गर्न सकिन्छ भन्नु , सोच्नु राजनीतिक दुर्भाग्य हो। राजनीतिक कुण्डहरूमा यत्ति धेरै छाल उठि सकेको र उठि रहेको छ कि महाकुण्डमा ज्वारभाटा जस्तै ठुलो छाल नउर्ले सम्म स्थिरता आउने छैन्।

—————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ