खेलखाल को राजनीति

 खेलखाल को राजनीति

प्रकाशित:- वैशाख २३,२०७७ ( May 5,2020 )


 राजनीति भन्या खेलखाल नै हो कि क्या।राज्य सत्तामा,सत्तासीन दलमा,प्रमुख प्रतिपक्ष दलमा,संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा जताततै खेलखाल ।खेलखाल गर्दा गर्दै राजनीतिक अपहरण सम्म पुगी सक्यो ।फेरि पनि अपहृत र अपहारी दुबै पक्षको मानव अधिकार आयोगमा उजुरीको खेलखाल।हामी हाम्रा नेतागण राजनीतिमा आवश्यकता भन्दा बढी प्रखर भएर हो कि न यस्तो भाको।

कुरो स्पष्ट छ राजनीति कदापि खेलखाल होइन्।सुख, शान्ति,समृद्धि,सुरक्षा,पारस्परिक सहयोग, सदभाव,भ्रातृत्व,सृजनशीलता र सकारात्मकता राजनीतिको मूल विषय हो।सकारात्मकता  र  सृजनशीलताका लागि गरिने कुनै पनि कार्य असम्भव हुदैन्।अथक चिन्तन,लगाव र प्रयास बाट त्यो  गन्तव्यमा पुगिन्छ र त्यस्को माध्यम हो राजनीति।त्यसैले भन्ने गरिन्छ राजनीतिमा कुनैपनि काम कुरो असम्भव हुदैन्।तर धुर्त्याइंको,खेलखालको राजनीति गर्ने हरूले भन्ने गर्दछन् “राजनीतिमा जे पनि जायज हुन्छ”।सोझो औंलोले घ्यू आउदैन्,औंलो बङ्याउनु पर्दछ।यो स्वाभाविक,सर्वस्विकृत,

सर्वमान्य सत्य हो।तर राजनीतिक धुर्तहरू “घ्यू निकाल्न औंलो बङ्याउनु”लाई खेलखाल ठान्दछन्। 

राम-रावण र महाभारत युद्ध सत-असत,न्याय-अन्याय र धर्म -अधर्म बिचको घमासान थियो।यस्को व्याख्या जुनसुकै कोण बाट गरेतापनि वा दन्त्यकथा को रूपमा लिइएता पनि त्यो घमासानको निर्क्योल भन्या सत्य,न्याय,धर्म,सुविचार,सतकर्म त हो नि।धार्मिक ग्रन्थहरू समस्त जगत् कल्याण का लागि लिपिबद्ध गरिएको सर्वविदित छ।मुलुकको संविधान सत्तासीन कुनै एक नेता र दलको लागि मात्र होईन् समस्त देशवासिहरूको लागि बनाइएको हुन्छ ।हामी हाम्रो धार्मिक ग्रन्थहरू  रामायण,महाभारत तथा देशको संविधान पढछौं,सुन्दछौं तापनि आफ्नो स्वार्थ र हित अनुकूलको व्याख्या गर्दछौं र खेलखाल लाई निरन्तरता दिइनै रहन्छौ।धार्मिक ग्रन्थहरूको व्याख्या र तदनुरूप आचरण को कुरो गर्यौं भने रूढ़िवादी भनिहाल्छौ।तर राजनीतिक खेलखालमा सक्रिय रहदा आफुलाई राजनीतिक स्मार्ट ठान्दछौं।खेलखालयुक्त त्यस्तो कार्य लाई सभ्य राजनीति भन्दछौ।यथार्थमा त्यो कार्य तथाकथित सभ्य राजनीति भित्रको आदिमता हो।

जननिर्वाचित कुनै एक सांसद लाई बलि चढाइ कुनै एक शीर्ष नेतालाई उक्त स्थान बाट तारतम्य  मिलाइ निर्वाचित गराउने र उपयुक्त समयमा सरकार प्रमुख बनाउने सोंच बनाउनु,निर्णय गर्नु संवैधानिक एवं राजनीतिक खेलखालको चरम अवस्था हो नि त।सत्तासीन ले संविधान लाई आफ्नो प्रतिबिम्ब बनाउन खोज्या छर्लङ्ग छ।यस्तो कुकसरत प्रजातांत्रिक शासन पद्धति को विरूद्ध त हो नै।परिणाम सत्तासीन दल भित्रको विद्यमान खेलखाल लाई उर्जा मिल्ने छ,दल प्रति को संवेदनशीलता,आत्मीयता,समर्पण र एक्येवद्धतामा परकम्प चलायमान रहनेछ,हेर्दा सिङ्गो तर  सुक्ष्म ढंगमा नियाल्यौं भने विभाजनका चिराहरू देखिनेछन्,चिढाइएका,जालझेलमा परेका नेता कार्यकर्ताहरूको अन्तस्करणमा प्रतिशोध र समयप्रतिक्षा को मानसिकता पैदा हुनेछ, “म एक मात्र शासक,एक मात्र नेता” को सर्वसत्तावादी सोंच पैदा हुनेछ।अन्तत्वगत्वा नतिजा आत्मघाती हुनेछ।राजनीतिमा मनन गर्नु नै पर्ने,हेक्का राख्नु नै पर्ने एउटा अत्यन्त महत्वपूर्ण अवस्था विद्यमान रहन्छ ।त्यो हो “शक्ति को प्रयोग गर्नु र शक्ति बाट प्रयोग हुनु”।आफु ले मदिरा पिउनु र मदिराले आफु लाई खानु भन्या जस्तै हो।लत र व्यसन नकारात्मक अवस्था हो।विसङ्गति,विकृति र पतन त्यस्को       फल हो।

“शक्ति को प्रयोग गर्नु र शक्ति बाट प्रयोग हुनु।” दुई भिन्न अवस्था हो।संविधान ऐन क़ानुन प्रदत्त शक्ति को प्रयोग बाट राज्य संचालन गर्नु शक्ति को प्रयोग हो।शक्ति को प्रयोग गर्दा गर्दै एउटा यस्तो अवस्था सृजना हुन्छ जुन अवस्थामा शासकले आफुलाई “ एक मात्र शासक वा नेता”ठान्न  थाल्दछन् ।क्रमश: सर्वसत्तावादी सोंच र प्रवृत्ति पैदा हुन थाल्दछ।जब शक्ति प्राप्त हुन्छ त्यस बखत  निज शासक जनस्वार्थको दॉजो आफ्नो,आफ्नाहरूको स्वार्थ लाई प्राथमिकतामा राख्न थाल्दछन्। आफ्नो दलको पूर्ण वहुमतको अवस्थामा त्यो स्वार्थको आयतन र प्राथमिकतामा वृध्दि त हुन्छ नै।शक्ति दुरुपयोग र भ्रष्टाचार को पानाहरू एक पछि अर्को विस्तारै खुल्दै जान्छ ।सर्व चर्चित भनाई Absolute Power Corrupts Absolutely.

शक्ति को प्रयोग गर्दा गर्दै विस्तारै शक्ति बाट प्रयोग हुदै निरंकुश रूप धारण गरेका र त्यै शक्ति बाट बध भएका वंशानुगत र जन निर्वाचित शासकहरू को उल्लेख एवं वृतान्त इतिहास को पानाहरूमा प्रशस्त पाईन्छ ।शक्ति को प्रयोग गर्नु तर शक्ति बाट प्रयोग नहुनु भन्ने तथ्य सत्ता मा पुग्नु पूर्व हेक्का रहन्छ तर विडम्बना सत्तासीन भएसी आफुलाई “ एक मात्र” शासक एवं नेता ठान्दछन् अनि त माकुरो आफ्नै जालॉ फँसे जस्तै फस्दछन।परिणाम राष्ट्रीय राजनीतिमा,दलीय व्यवस्था प्रति र आफ्नै दल भित्र सकस को अवस्था पैदा हुन्छ।आज मुलुक को शासन र सत्तासीन दल यस्तै अवस्था बाट गुज्रीदै छ।राजनीतिक खेलखाल चरमोत्कर्ष मा पुग्या छ।मृत्युलोक मा रहेका हामीहरू लाई अब कुन लोकमा लान सत्तापक्षले यत्रो खेलखाल गर्दैछन् भन्या।

—————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

जनता कमजोर हुदा यस्तै हुन्छ

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ