दल दलदलमा
दल दलदलमा
प्रकाशित:- कार्तिक १८,२०७७( Nov.8,2020 )
राजनीतिक दल प्रतिनिधितन्त्रको आधार स्तम्भ हो।दल सङ्घे शक्ति को अवधारणा हो।यस्ले जनतालाई राजनीतिकरूपमा सचेत,सजग,अनुशासित,सुसंस्कृत र संगठित बनाउदछ।संगठित शक्तिको रूपमा जनतालाई राजनीतिमा सहभागी गराउदछ।परिणामत:राजनीति जनमुखी बन्दछ। यही त हो नि दलको राजनीतिक धर्म,कर्म र दायित्व ।
व्यवहारिक राजनीतिमा हुनु पर्ने त यही नै हो।तर अपसोस वर्तमानमा सत्तासीन र प्रमुख प्रतिपक्ष दलका नेताहरू आफ्नै दुनु सोझ्याउन दल भित्र परस्पर तँछाड मछाड मै मस्त व्यस्त छन्।सत्तासीन दल भित्रको रडाको मत्थर हुने र विधि सम्मत मर्यादित ढंगमा टुङ्गोमा पुग्ने संकेत झल्याकझुलुक हुन्छ तर फेरि पनि त्यही दलदलमा कच्याककुचुक।हेर्दा ठिकठाक मिलेको देखिन्छ।तर गाँठीकुरो अदृश्य नै छ।जनता रल्लिएका छन्।यस्तो अवस्थामा सरकारको काम,कुरो,तौरतरिका विचित्रको हुने नै भयो।नेताहरू संगसंगै जनता पनि दलदलमा गाडिदै छन्।रनभुल्ल छन्।दलीय मोहनीले लट्ठिएका छन्।
सरकार प्रमुख लाई दलको अध्यक्ष र प्रधानमंत्री पद बाट हटाउने सम्मको सनसनीपूर्ण कुरो उठान गरेकै हो।दलको निर्देशनमा सरकार चल्नु पर्ने निर्णय पनि गरेकै हो।दलदलमा दल यत्तिको भासिएको छ कि नेतागणको तीक्ष्णता पातलीदै गएको जनताको बुझाइ छ।सत्तासीन दलका अर्का अध्यक्ष दाहालले भनेकै हो नि “ सांचो कुरो के हो भने अहिले ठिकठाक छ भनेर भने भने त्यो सत्य होईन।पार्टी संकटमा छ किनकी हाम्रो पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा नेकपा ऐमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीको अर्का अध्यक्ष समेतको सक्रियता र पहलमा भएको छ”।
सत्तासीन दलका नेताहरू किंकर्तव्यविमूढको अवस्था झेलिरहेका छन्।पार्टी फुटनु फुटाउनु भनेको कलङ्कीत हुनु, दोष लाग्नु हो।कलङ्क बोक्ने साहस अर्का अध्यक्ष दाहालले गर्ने छैनन्।त्यसो गर्नाले आफुहरू गत स्थानिय निर्वाचन पूर्वको अवस्थामा पुनःपुगिने डर दाहाल खेमा लाई छ।तर पूर्व ऐमाले खेमा लाई खास राजनीतिक हानी छैन् ,हुदैन्।किनकी गत स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको धोडा चढेको दाहाल संसदको निर्वाचनमा तत्कालीन ऐमाले को बुई चढेर नै आजको अवस्थामा आईपुगेको जग जाहेर छ। कथमकदाचित्:माधव नेपाल पक्षधर र दाहाल खेमाको सख्त दबाब को परिणाम पार्टी विभाजनको संघारमा पुग्यो वा विभाजन भयो भने राजनीतिमा अस्थिरता एवं व्यापक अदलबदल हुनेछ।विस्तारवादीहरूको लामो तिखो नङग्रा पुन:सक्रिय हुने नै छ।भारतीय Research and Analysis Wing (RAW) प्रमुख गोयलको अप्रत्याशित नेपाल खुफिया अपरेशन पुरा हुनेछ।
पार्टी विभाजनको समीक्षा र मतियारहरूको मुल्याङ्कन आउदा दिनहरूमा हुने नै छ।नेपाल समूह दाहाल खेमामा प्रवेश गर्ने छैनन्।पार्टी अध्यक्ष र सरकार प्रमुखको काम कुरो को विरोध गर्नु विमति जनाउनु र दाहाल खेमामा समाहित हुनु आकाश पाताल जस्तै हो।नेपाली राजनीतिमा कम्युनिष्ट आन्दोलनको दौरान आफु र आफ्नो पूर्व ऐमाले पार्टीले कायम गरेको गरिमामय इतिहास लाई चटक्क बिर्सिदिनु राजनीतिक अवसान हो।त्वम् शरणम् त सम्भव नै छैन्।सम्मानित एवं मर्यादित ढंगमा सहमतिमा पुग्नै पर्छ।दल भित्र गुटबंदी हुनु, प्रतिस्पर्धा हुनु दलीय राजनीतिको स्वभाव नै हो।समृध्दि ,लोक कल्याण,स्वावलंबन,स्वाभिमान,सार्वभौम भूअखण्डता र राजनीतिक स्थिरताको लागि सत्तासीन दल,प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगाएत कुनैपनि दल विभाजित हुनु हुदैन्।
प्रजातांत्रिक आन्दोलनको सिंहराज नेपाली कांग्रेस वर्तमानमा किन लुरूक्क,लाचार।जन जिज्ञासा छ।हुनत् नेताहरू भनिरहेका छन् कि देश र जनताको समृद्धी,सुख,शान्ति,हक,अधिकारको खातिर नेपाली कांग्रेस अहोरात्र लागिरहेको छ।संसदमा सासंदहरू गर्जिदैं राजनीतिक धर्म पालन गरेको जनतालाई याद छ।तर राजनीतिक कर्मको हकमा ठोस कर्म गरेको जनआभास छैन्।ने.का.पनि दल भित्रको दलदलमा निकै गाडिएको छ।दलदल बाट उम्किन सकेको छैन्।राजनीतिमा र जनता माझ ने.का.को स्थिति र उपस्थिति “ छ छैन्।छैन् छ”जस्तै छ।हेक्का राख्नु जरूरी छ कि भारतले नेपालको भूमी समेतको नयां नक़्शा सार्वजनिक गरेको सम्बन्धमा ने.का.अध्यक्ष देउवाले पोखरामा दिएको अभिव्यक्तिको जवाफमा सत्तासीन दलका अर्का अध्यक्ष दाहालले भनेका थिए “नेपालको इतिहासमा किंवदन्ती,नेपाली कांग्रेस एउटा यस्तो पार्टी थियो भन्ने ठांउमा पुग्न कत्ति बेर लाग्ने छैन्”।
मुलुकको राजनीतिमा नियन्त्रण र सन्तुलन अपरिहार्य छ।त्यो कार्य वर्तमानको तेस्रो ठुलो दल जनता समाजवादी पार्टी बाट सम्भव छैन्।त्यो दल र नेताहरूलाई जनताले सम्मान गर्दछन्।तर विश्वास गर्न सक्दैनन्।विश्वास र भरोसाको संकट छ।त्यो कार्य गर्न सक्ने भनेको नेपाली कांग्रेसले नै हो।तसर्थ जाग्नु पर्यो।उठनु पर्यो।साँच्चिकै क्रियाशील हुनु पर्यो।किनकी आवश्यकतानुसार अन्य दलहरू संग सहकार्य गरेर भएपनि नियन्त्रण र सन्तुलन कायम गर्नु वर्तमानको राजनीतिक आवश्यकता हो।
संघीय प्रजातान्त्रिक गणतन्त्रात्मक शासन पद्धति बाट देश समृध्द र जनता सुखी हुनेछन्।जनता आशावादी छन्।सूर्य देवको सात घोड़े रथ जस्तै संघीयरूपी सात प्रदेश युक्त रथ बाट सर्वत्र समानरूपमा सबैले उज्यालो अनुभूत गर्न पाएका छैनन्। आफ्नो सुविधा र सहुलियतमा प्रदेश रूमलिएको,सर्वसरोकारको कतिपय राष्ट्रीय बिषयहरूमा संघ र प्रदेश बीच समन्वय अभावको कारण तानातानको अवस्था पैदा हुने गरेको सर्वविदित नै छ।यस्तो अवस्थाले निरन्तरता पायो र थेग्न सकेन भने कतै रथ टुक्रा टुक्रा हुने पो हो कि ? जनतामा आशंका पलाउन थालेकोछ।
—————————महेन्द्र बहादुर सिंह
।
Comments
Post a Comment